Tuesday, October 25, 2022

लाश गाड्ने वा जलाउने विषयमा बाइबलले के भन्छ ?


२० नोभेम्बर २०११ (अर्थात् २०६८ साल मंसिर ४ गते) आइतबारका दिन रातको ८ बजेर ५९ मिनेट जाँदा काठमान्डौको कलङ्कीस्थित सहिद मेमोरिएल अस्पतालमा ९० वर्षको दीर्घायुमा मेरा पिता मान बहादुर अधिकारी प्रभुमा सुत्नुभयो । भोली पल्ट चर्चमा अन्त्येष्टिको कार्यक्रम गरी दफनको लागि हामीले मृत शरीरलाई ट्रकद्वारा ७ घण्टाको यात्रा गरी आफ्नो गृहनगर आरुघाट लग्यौँ र बुढी गण्डकीको तीरमा दफन गर्‍यौँ । एकातिर काठमाडौँमा गाड्नलाई जग्गा थिएन भने अर्कोतिर कफिन बक्स बनाएर गाडियोस् भन्ने बुबाको इच्छा थियो । उहाँ नामुद जँड्याहाबाट दह्रिलो विश्वासीमा रूपान्तरण हुनुभएको थियो ।


हाम्रो मण्डलीमा मृत्युपश्चात् कतिपय विश्वासीहरू गाडिए भने कतिपयलाई जलाइयो । कतिलाई टेकु त कतिलाई आर्यघाटमा जलाइएको छ भने कतिलाई वनकाली त कतिलाई अन्यत्र गाडिएको छ । गाड्ने वा जलाउने भन्नेमा परिस्थिति र आफन्तहरूको इच्छा निर्णायक बने ।

अब्राहामकी पत्नी साराको मृत्यु भएपछि तिनले “‍सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाका खेतको ओड़ारमा गाड़े” (उत्पत्ति २३:१९) । अब्राहामको मृत्युपश्चात् तिनका छोराहरूले तिनलाई “हित्ती सोहोरको छोरो एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्‍पेलाको ओड़ारमा गाड़े” (उत्पत्ति २५:९) । याकूबकी पत्नी राहेलको निधनपश्चात् मानिसहरूले “बेथलेहेम जाने बाटोमा … तिनलाई गाड़े” (उत्पत्ति ३५:१९) । मोआबमा मोशाको मृत्युभएपछि परमेश्वरले “मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा … तिनलाई गाड्‌नुभयो” (व्यवस्था ३४:६) । यहूदाका तृतीय राजा आसा आफ्ना पित्रहरूसित सुतेपछि “तिनी त्‍यस चिहानमा गाड़िए, जो तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति बनाएका थिए” (२ इतिहास १६:१४) । येशूको मृत्युपश्चात् अरिमाथियाका योसेफले “मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे, र तिनले चट्टानमा खोपेर बनाएका आफ्‍नै नयाँ चिहानमा त्‍यो राखे” (मत्ती २७:५९-६०) ।

गाड्ने विषयमा पुरानो करारमा मात्रै २०० ओटाभन्दा बेसी सन्दर्भ पाइन्छन्[i] जसले प्रस्ट पार्छन् कि मृत शरीरलाई गाड्नु इस्राएलीहरूको प्रचलित चलन थियो । चिहान, गुफा वा जमिनमा गाडी मृत शरीरलाई तह लगाउनु इस्राएलीहरूको सामान्य अभ्यास थियो । पुरानो र नयाँ करार दुवैमा मृत शरीरलाई गाड्नु प्रचलित अभ्यास थियो भन्ने कुरामा कसैले वादविवाद गर्छ जस्तो मलाई लाग्दैन ।

तर बाइबलमा यदाकदा लाशहरू जलाइएका सन्दर्भहरू पनि पाइन्छन् । आकानको पापको कारण “सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए” (यहोशू ७:२५) । संयुक्त इस्राएल राज्यका प्रथम राजा शाऊल र तिनका छोराहरूका लाश जलाइए, “पलिश्‍तीहरूले शाऊलको मृतशरीरलाई जे गरेका थिए त्‍यो जब याबेश-गिलादका मानिसहरूले सुने, तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्‍याए, र ती लाशहरूलाई जलाइदिए” (१ शमूएल ३१:११) । अर्को ठाउँमा लेखिएको छ, “त्‍यहाँका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजाहारीहरूलाई योशियाहले वेदीहरूमाथि मारे, र ती वेदीहरूमा तिनले मानिसहरूका हड्डी जलाए” (२ राजा २३:२०) । परमप्रभु भन्नुहुन्छ, “[मोआबले] एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले म मोआबमा आगो पठाइदिनेछु” (आमोस २:१-२) । नयाँ करारमा पावलले लेखे, “यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन” (१ कोरिन्थी १३:३) ।

पुरातात्त्विक अभिलेखअनुसार कम्तीमा पनि १७,००० वर्षअगि मान्छेलाई जलाउने अभ्यास गरिन्थ्यो भन्ने साक्षी पाइन्छ ।[ii] आजभन्दा झन्डै ३,००० वर्षअगि रोमीसाथै ग्रिकहरूले लाश जलाउने गर्थे ।[iii]

ऐतिहासिक रूपमा ख्रीष्टियानहरूले जलाउनुभन्दा गाड्नुलाई रोज्दै आएका भए तापनि आज ख्रीष्टियान जगत्‌का तीनवटै हाँगा (रोमन क्याथोलिक, प्रोटेस्टेन्ट र ग्रिक अर्थोडक्स) ले जलाइउनुलाई अस्वीकार गर्दैनन् ।[iv] ६५% ख्रीष्टियान रहेको मुलुक[v] अमेरिकामा गाड्नेभन्दा जलाउने (मेसिनबाट) हरूको सङ्ख्या बढ्दो छ ।[vi] गाड्नुभन्दा जलाउनु सस्तो पर्नु यसको सामान्य कारण हो ।

प्रतिष्ठित बाइबल विद्वान् जोन माकार्थुर भन्छन्, “वास्तवमा विश्वासीहरूको दफनको आवश्यक तरिकाबारे धर्मशास्त्रले केही पनि भन्दैन ।” तिनको भनाइको मतलब हुन्छ कि ख्रीष्टियानहरूको सन्दर्भमा बाइबलले जलाउनुपर्छ वा गाड्नुपर्छ भनी तोक्दैन । बाइबलमा जलाउन निषेध गरिएको छैन भन्ने कुरामा विश्व प्रसिद्ध सुसमाचार प्रचारक बिल्ली ग्राहम सहमत छन् ।[vii] जलाउने वा गाड्ने सम्बन्धमा बाइबलमा ख्रीष्टियानहरूलाई प्रस्ट आज्ञा नदिइएकोले आज जलाउने अभ्यासमा अधिकांश अगुवाहरूको सहमति छ ।[viii]

बाइबलको समयमा गाड्नु सामान्य चलन भए तापनि जलाउन निषेध गरिएको छैन । बाइबलको कुनै पनि खण्डमा जलाउनु अनुपयुक्त छ भनी व्यक्त गरिएको छैन न त जलाउने कार्यसित कुनै न्याय वा सराप गाँसिएको छ । जलाउनु पाप हुन्थ्यो भने पक्कै पनि परमेश्वरले यसको भर्त्सना गर्नुहुन्थ्यो जस्तो उहाँले कैयौँ अन्य धार्मिक अभ्यासहरूको भर्त्सना गर्नुभयो ।

मान्छे माटो हो र मरेपछि त्यो माटैमा फर्केर जानेथियो भनी परमेश्वरले भन्नुभयो, “माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌ । किनकि माटैबाट तँ निकालिएको थिइस्‌ । तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌” (उत्पत्ति ३:१९) । गाड्दा वर्षौंपश्चात् मान्छे माटोमा परिणत हुन्छ भने जलाउँदा छिट्टै नै । दुवैको आखिरी उद्देश्य शरीरलाई धूलोमा परिणत गर्नु नै हो । फरक यति मात्र हो कि एउटाले छिटो गर्छ भने अर्कोले ढिलो । जलाइएको शरीरको भविष्यमा पुनरुत्थान हुँदैन कि भन्ने सोच अपरिपक्व हो । किनकि परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ भनी ख्रीष्टियानहरू विश्वास गर्छन् । चाहे जलाइएर होस् वा गाडिएर, दुवै माध्यमबाट शरीर धूलोमा परिणत हुन्छ र भविष्यमा त्यही धुलोको मान्छेलाई परमेश्वरले पुनरुत्थान गराउनहुने छ ।

निष्कर्षमा, अन्य मनग्गे विषयहरूजस्तै गाड्नु वा जलाउनु ख्रीष्टियान स्वतन्त्रताको विषय हो । एउटा मण्डलीले गाड्न सक्छ भने अर्कोले जलाउन । एउटै मण्डलीमा पनि एउटा विश्वासीले गाड्नुलाई रुचाउन सक्छ भने अर्कोले जलाउनुलाई । गाड्ने वा जलाउने विषयमा बाइबलले संसारका सबै ख्रीष्टियानलाई एउटै नियम लागु गर्नुभएको छैन । ख्रिस्टमस मान्ने वा नमान्ने, महिनाको एक पटक प्रभु-भोज खाने कि तीन महिनाको एक पटक, मदर्स डे मान्ने वा नमान्ने, शाकाहारी बन्ने कि मांसाहारी बन्ने, जलाउने वा गाड्नेजस्ता भन्नेजस्ता सैयौँ विषयहरू ख्रीष्टियान स्वतन्त्रताका विषयहरू हुन् । तसर्थ यस्ता सवालहरूमा हरेक मण्डली र हरेक ख्रीष्टियानलाई एउटै नियम लागु हुँदैन । बाइबलले दिएको स्वतन्त्रताको सदुपयोग गरी एकले अर्कालाई आदर गर्न सिकौँ ।

सन्दर्भ स्रोतहरू

Source: https://kamaladhikari.com.np/2091/

[i] https://www.christianity.com/wiki/christian-life/what-does-the-bible-say-about-cremation.html Accessed on 19 May 2021

[ii] https://en.wikipedia.org/wiki/Cremation#History Accessed on 19 May 2021

[iii] https://cremationinstitute.com/bible-say-about-cremation/ Accessed on 19 May 2021

[iv] https://en.wikipedia.org/wiki/Cremation#Religious_views Accessed on 19 May 2021

[v] https://en.wikipedia.org/wiki/Christianity_in_the_United_States Accessed on 19 May 2021

[vi] https://www.christianity.com/wiki/christian-life/what-does-the-bible-say-about-cremation.html Accessed on 19 May 2021

[vii] https://cremationinstitute.com/bible-say-about-cremation/Accessed on 19 May 2021

[viii] https://cremationinstitute.com/bible-say-about-cremation/ Accessed on 19 May 2021

सूर्यग्रहणको बाइबलीय अवधारणा


म सानो हुँदाको कुरा हो, सूर्यग्रहणको दिन गाउँमा कोलाहल मच्चिन्थ्यो। कुनै जात विशेषको नाम जोडेर ‘छोड्, छोड्’ भनिन्थ्यो! चन्द्र ग्रहण लाग्दा पनि यसरी नै गाली गरेको सुनिन्थ्यो! योचाहिँ मेरो बाल-मष्तिष्कमा जमेर बसेको विस्मरण हो, तर सूर्यग्रहण लाग्दा पृथ्वीवासीलाई असर पार्छ भन्ने भ्रमहरू फैलाउन ज्योतिषविद्या सक्रिय छ, जस्तैः ‘‘ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र बन्ने, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी हुने, भोजन गरे अधोगतिमा पुग्ने, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने जस्ता कुराहरू धार्मिक ग्रन्थमा वणर्न गरिएका छन्।’’1 ग्रहण कहिले हुन्छ र किन हुन्छ भन्ने कुरो मानिसलाई अगाडि नै जानकारी हुनु मानवमा रहेको आविष्कार गर्ने क्षमताको विकास मान्नुपर्दछ। पृथ्वीबाहेक बाहिरको संसारमा हुने गतिविधिलाई जान्नु सानो विज्ञान होइन, तर अझै पनि ज्योतिषशास्त्रले तथानाम व्याख्या गरेर मानिसलाई त्रासित पार्न भ्याएको देख्दा सृष्टिको रहस्यमय सुन्दरतालाई व्याख्या गर्ने काममा विज्ञान अझै हारेको अवस्था छ।

सूर्यग्रहण के हो?

भौतिक विज्ञानले देखाएअनुसार, सौर्य मण्डलमा पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने पनि चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। घुम्ने क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दा चन्द्रमाको ढाकिने आकार बराबर सूर्यको केही वा सबै प्रकाश छेकिदिन्छ, जसले गर्दा पृथ्वीमा पूरा, आधा र आंशिक अँध्यारोले ढाक्छ। यस घटनालाई सूर्यग्रहण भनिन्छ। सूर्यमा पूरा, आधा र आंशिक अन्धकार छाउनुमा सूर्य-चन्द्रमा-पृथ्वीको ढल्काइले भूमिका खेल्छ। यो औसत हरेक १८ महिनामा कहीँ न कतै ग्रहण लागिरहेको हुन्छ।2 नेपालको आकाशमा ग्रहण लाग्दा अरू देशमा लाग्दैन र अरू देशमा ग्रहण लाग्दा यहाँ लाग्दैन। यसको अर्थ यो सौर्य मण्डलमा नियमित चलिरहने गतिविधि हो। ग्रहण लाग्दा अन्धकार हुनुमा कुनै देवीदेवता, भगवान, शैतानजस्ता अदृश्य शक्तिको भूमिका हुँदैन। यसकारण सूर्यग्रहण हुँदा, यस विषयमा तथानाम व्याख्या गर्नु अन्धविश्वास मात्र हो।
बाइबलीय अवधारणा

परमेश्वरलाई अन्धकार कति पनि मन पर्दैन किनभने उहाँले दिनको लागि घाम र रातको लागि छुट्टाछुट्टै ज्योतिहरू बनाउनुभयो। यस विषयमा यस्तो लेखिएको छ, ‘‘परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो — ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो’’ (उत्पत्ति १,१६)। यी अनगिन्ती ताराहरूसहित विशाल ज्योतिहरू घुम्ने बेला ठोक्किँदैन र आ–आफ्नो मार्गमा घुम्दा पृथ्वीमा ओझेल पर्ने गरी बसाल्नुभयो। यतिका ज्योतिहरू बनाउनुहुनेले बेला बखत अन्धकार छाउने गरी, अर्थात ग्रहण लाग्ने नियम बनाएर के सन्देस दिन खोज्नुभएको छ भन्ने कुरो बुझ्न निकै गाह्रो छ, तर म यहाँ दुइटा अर्थहरू अगि सार्न चाहन्छुः

पहिलो, आफ्नो रहस्य परमेश्वरले सृष्टिमा लुकाइदिनुभएको छ। यस सम्बन्धमा रोमी १,२०-२१ मा लेखिएको छ,

२०उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।

२१किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकम्मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्यारो भयो।

परमेश्वरलाई आमने-सामने देख्न सकिँदैन, तर उहाँलाई उहाँको आफ्नै सृष्टिबाट ठम्याउन सकिन्छ। वास्तवमा विज्ञानले गर्ने काम भनेको सृष्टिमा रहेका रहस्यहरूलाई मानिसको समझले बुझ्न सक्ने गरी पत्ता लगाएर प्रस्तुत गर्नु हो। सूर्य/चन्द्र ग्रहणको रहस्य पनि धेरै पछि मात्र विज्ञानले पत्ता लगाएको तथ्य हो। सृष्टिमा लुकेका कतिपय रहस्यहरू अझै पनि खोल्न सकिएको छैन।

दोस्रो, सूर्यग्रहणले यो सङ्केत दिँदछ कि परमेश्वरविना संसार अन्धकारमय छ। यो तथ्य बुझ्नको लागि येशू कलवरीमा टाँगिनुहुँदा भएको अन्धकारलाई विचार गर्नुस्। येशूले प्राण त्याग्नुभएपछि त्यहाँ दिउँसै अँध्यारो भयो। ज्योतिको परमेश्वर नहुनुहुँदो त, संसारको हालत के हुन्थ्यो भन्ने कुरो यहाँ स्पष्ट छ।

बाइबलमा ‘सूर्यग्रहण’ भन्ने शब्द चलाइएको छैन, तर पनि दिउँसै अन्धकार छाएका घटनाहरू पढ्न पाइन्छ। यसलाई बाइबलका धेरैजसो व्याख्याताहरूले ‘सूर्यग्रहण’को दृष्टिबाट हेरेका छन्। बाइबलमा अभिलेख गरिएको सबैभन्दा पहिलो घटना रहेको छ, मिश्रमा फारोको विरुद्ध परमेश्वरले लगतार तीन दिनसम्म अन्धकारको विपत्ति पठाउनुभयो। यस बारे प्रस्थान १०,२१-२३मा लेखिएको छ,

फेरि परमप्रभुले मोशालाई भन्नुभयो, ‘तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्यारो भइजाओस्। छाम्दा थाहा पाउनेजस्तो अन्धकार होस्।’ २२अनि मोशाले आफ्नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्म निस्पट्ट अन्धकार भयो। २३तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो।

मिश्रमा तीन दिन अन्धकार पार्ने काम सृष्टिकर्ता स्वयमले गर्नुभएको हो। सृष्टिमा परमेश्वरले पृथ्वी, चन्द्रमा र सूर्य घुमिरहने प्रणाली रच्नुभयो र मिश्रमा विपत्ति पठाउनुहुँदा मिश्रको भागमा पर्ने गरी सूर्यलाई चन्द्रमाले ढाक्न दिनुभएको अर्थ सहजै लाउन सकिन्छ। यसै गरी येशू क्रूसमा टाँगिनुहुँदा पनि लगभग यस्तै किसिमको घटना घट्यो। मत्ती २७,४५-४६ र मर्कूस १५,३३-३४मा दिउँसै अँध्यारो भएको बयान गरिएको छ, विशेष गरी मर्कूस १५,३३-३४मा यस्तो लेखिएको छ,

३३बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो। ३४तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, ‘इलोई, इलोई, लामा सबखथनी?’— जसको अर्थ हो, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?’

यही घटनालाई लूकाले अलि फरक शब्दावली चलाएर लेखेका छन्,

४४प्रायः दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। ४५सूर्यको तेजै कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो (लूका २३,४४-४५)।

कलवरीमा सूर्यले प्रकाश नदिएको घटनालाई सूर्यग्रहण नै भएको भन्नुपर्ने अवस्था देखिन्छ।3 मिश्र र कलवरीका दुई घटनाहरूलाई नियाल्दा कुरो प्रष्ट हुँदछ कि उहाँले आफ्नो योजना पूरा गर्न हामीले भन्दै आएको सूर्यग्रहणलाई चलाउनुभयो, अर्थात् चन्द्रमाले सूर्यलाई छेक्ने बनाउनुभयो। सृष्टिकर्तासँग आफैले बसालेको नियमलाई चलाउने र उल्टाउने अधिकार छ – यसैलाई हामी आश्चर्यकर्म भन्दछौँ।

सूर्य र चन्द्र अँध्यारो हुने विषयमा बाइबलले विभिन्न प्रसङ्गमा स्पष्टसँग बताएको छ। सृष्टिमा देखिने यस्तो अनौठो लाग्ने नियमलाई हामीले भन्ने गरेको ग्रहणसँग तुलना गर्न मिल्छ वा मिल्दैन भन्ने विषयमा हामी जान्दैनौं, यसलाई बाइबलले ‘परमप्रभुको दिन’को रूपमा व्याख्या गरेको छ। सूर्यग्रहणसँग तुलना गर्न मिल्ने बाइबलका त्यस्ता पदहरूको टिप्पणी दिइएको छ।

यशैया १३,१०

आकाशका ताराहरू र तिनका तारापुञ्जले आफ्नो चमक दिनेछैनन्। सूर्य पनि उदय हुँदाहुँदै अँध्यारो हुनेछ, र चन्द्रमाले ज्योति दिनेछैन।

इजकिएल ३२,७

मैले तेरो नामनिशाना मेट्दा म आकाश ढाकिदिनेछु,र त्यसका ताराहरूलाई अँध्यारो पारिदिनेछु। म सूर्यलाई बादलले ढाक्नेछु, र चन्द्रमाले प्रकाश दिनेछैन।

योएल २,१०,३१

पृथ्वी तिनीहरूका सामुन्ने काम्छ, आकाश थरथराउँछ। सूर्य र चन्द्र अँध्यारा हुन्छन् र ताराहरूले आफ्नो चमक दिँदैनन्। परमप्रभुको त्यो महान् र भयङ्कर दिन आउनुभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्।

योएल ३,१५

सूर्य र चन्द्र अँध्यारा हुनेछन् र ताराहरूले आफ्नो चमक दिनेछैनन्।

प्रकाश ६,१२

जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें। सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो।

मत्ती २४,२९

ती सृष्टिका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्।

मर्कूस १३,२४

तर ती दिनमा त्यस महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन।
सूर्यग्रहण आविष्कार

चिनियाँहरूले २१३७ ईपूभन्दा अगि नै सूर्यग्रहणको विषयमा हिसाब राखेको रेकर्ड पाइएको छ। अनि माया सभ्यताले पनि ग्रहणको तालिका तयार पारेको देखिन्छ।4 सौर्य मण्डलमा हुने गतिविधि बारे सुमेरियन र चिनियाहरूले रेकर्ड राख्ने बेला सूर्यग्रहणलाई टिप्पणी गरेका थिए। ग्रीक दार्शनिक एनाक्सगोरस – Anaxagoras (५००-४२८ ई पू) ले चन्द्रमालाई सूर्यले चहकिलो पार्छ भन्ने पत्ता लगाए भने यसैबाट चन्द्रमाको छायाँले सूर्यग्रहण हुन्छ भन्ने कुरा पत्ता लाउन सजिलो भयो। विज्ञानका इतिहासकारहरूलाई लाग्दछ कि परमिनिडस – Permenides (५१२-४५० ईपू) वा इम्पिडोक्लिस – Empedocles (४९३-४३३ ई पू) नै पहिलो व्यक्ति हुन् जसले चन्द्रमाले सूर्यबाट प्रकाश पाएर परावर्तन गर्छ।5 पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आएपछि सूर्यग्रहण हुन्छ भन्ने कुरा धेरै पछि मात्र थाहा हुन आयो, यसको श्रेय अक्रगास (Acragas) का एम्पिडोक्लिस र क्लाजोमेनेइ (Clazomenae) का अनाक्सगोरसलाई जान्छ।6 -१०९
निष्कर्ष

बेला बखत दिउँसै अँध्यारो हुने घटना मानिसको लागि अचम्मको कुरा हो, जसले विभिन्न युगका मानिसहरूलाई सोचनीय बनायो र यसैलाई आधार बनाएर विभिन्न अन्धविश्वाससहितका धार्मिक विषय बनाएर त्रास फैलाइए। वास्तवमा खगोलशास्त्रीय हिसाबले यो अति नै रोचक र नयाँ खोजको लागि मौकाको विषय हो।

नासाले बताएअनुसार, सूर्यग्रहणले पृथ्वीवासीको जीवनाचर्यामा कुनै असर गर्दैन, जसकारण यसलाई शुभ/अशुभको कुरो गरेर त्रास फैलाउनु हुँदैन। यति मात्र हो कि ग्रहण लागेको घामलाई सीधा हेरेको खण्डमा आँखाको नानी जल्नसक्छ, – त्यसो त अरू बेला पनि सूर्यलाई नाँगो आँखाले हेरिँदैन र हेर्न पनि सकिँदैन। यसकारण ग्रहण लागेको बेला घाममा सीधै नहेर्न चेताउनी दिइन्छ र हेर्नै परेको खण्डमा विशेष किसिमको चश्मा लाउन सल्लाह दिइन्छ। नेपालमा चाहिँ बाल्टीको पानीमा छायाँ उतारेर हेर्ने गरेको पाइन्छ। पश्चिमी देशमा सूर्यग्रहणको दिन मानिसहरू दूरवीन लिएर बाहिर निस्कँदछन्। सूर्यग्रहण सृष्टिमा परमेश्वरले राखिदिनुभएको उदेकको रहस्य हो, जुन हाम्रो समझले भ्याउने गरी विज्ञानमार्फत प्रकट भएको छ। यसकारण ख्रीष्टियानहरूले सृष्टिकर्तालाई धन्यवाद दिनुपर्दछ।

द्रष्टव्यः वास्तवमा ‘सूर्यग्रहण’ शब्द चलाउँदा पनि होसियार हुनुपर्ने देखिन्छ भने ‘ग्रहण’ शब्द आफैले नकारात्मक अर्थ दिन्छ।

Written By:Ganesh Tamang source - Biblical Advocacy

*Saving this article for educational purposes